होटलको भवन भत्किँदा १७ जनाको ज्यान गयो
चीनमा एउटा होटलको भवन भत्किँदा कम्तीमा १७ जनाको ज्यान गएको छ । भवन भत्किँदा अन्य ६ जना घाइते भएका छन् ।

शङ्घाईको नजिकको सहर सुजुमा रहेको एउटा होटल भत्किएको ३६ घण्टापछि उद्धार गरिएकोमा १७ जनाको ज्यान गइसकेको र ६ जना जीवितै रहेका बीबीसीले जनाएको छ । जीवित भेटिएका ६ जनामध्ये पाँच जना घाइते रहेका र एक जनालाई कुनै चोट पटक नलागेको बताइएको छ ।
भवनको निर्माणमै कमजोरी रहेका कारण भत्किएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको बताइएको छ । सुरुमा तीन तला रहेको भवनमा पछिल्ला दिनमा तला थप्दै लगेको स्थानीयवासीले बताएका छन् ।
५४ वटा कोठा भएको भवनमा १८ जना रहेका विवरण प्राप्त भएकोमा थप पाँच जना पाहुना विना दर्ता बसेको पाइएको बीबीसीले जनाएको छ ।
यो घटना सोमवार स्थानीय समयअनुसार दिउँसो साढे तीन बजेतिर भएको थियो ।
चीनमा यसअघि पनि यस्ता घटना भएका छन् जसमा खराब निर्माण कार्यलाई दाेष दिइने गरिएकाे छ ।
गएकाे वर्ष फुजिआन प्रान्तमा एउटा होटेल भत्किँदा २९ जनाको ज्यान गएको थियो ।
प्रतिक्रिया दिनुहोस्