यही सरकारलाई बाँकी दुई वर्षको कार्यकाल पूरा गराउनेतर्फ लाग्ने छौँ – नेता खनाल

नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले अब आफूहरू यही सरकारलाई बाँकी दुई वर्षको कार्यकाल पूरा गराउनेतर्फ लाग्ने बताउनुभएको छ ।
प्रतिनिधि सभाको बुधवारकाे बैठकबाट बाहिरिने क्रममा पूर्वप्रधानमन्त्री खनालले सर्वाेच्च अदालतको यही फागुन २३ गतेको फैसलाबाट पार्टी पुनर्स्थापित भएकाले अब संसदमा हुन सक्ने विभिन्न खेलतिर नलागी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई टिकाउन प्रयास गरिने स्पष्ट गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यो संसद् भनेको सबभन्दा माथिको सर्वोच्च राजनीतिक मञ्च हो । देशको सम्पूर्ण राजनीतिक पार्टीले, राजनीतिज्ञले खेल खेल्ने ठाउँ यही हो । अब नयाँ खेलको सुरुवात हुन्छ । त्यो नयाँ खेल कसरी हुन्छ भन्ने कुराको परिदृश्य तपाईँहरूले बिस्तारी–बिस्तारी देख्दै जानुहुन्छ । तर मलाई लाग्छ, संसद्ले एउटा राम्रो निष्कर्षतर्फ अब देशलाई लानुपर्छ । नेकपा (एमाले) सधैँभरि यो देशको वामपन्थी एकताको पक्षमा छ । वामपन्थीलाई एकताबद्ध गर्नुपर्छ भन्ने पक्षमा छ । देशकाे अग्रगतिको पक्षमा छ । प्रगतिको पक्षमा छ । हामी यी मुद्दालाई कहिल्यै पनि छोड्दैनौँ ।’
एमाले र माओवादी केन्द्रबीचको एकता भइ बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अदालतको फैसलाबाट खारेज भएको थियो । नेकपा रहेका स्थितिमा भने पार्टीभित्र सरकार परिवर्तनको कुरा उठेको थियो ।
प्रतिक्रिया दिनुहोस्