१२ श्रावण २०८१, शनिबार
Logo

प्रचण्ड–माधव समूहकाे संसदीय दलकाे नेतामा दाहाल चयन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । शुक्रवार नेकपा प्रचण्ड–माधव समूहकाे संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको हो । 

संसदीय दलका ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई सर्वसम्मतरूपमा संसदीय दलको नेतामा चयन गरिएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले अदालत र नागरिककाे मर्म विपरीत केपी शर्मा ओली प्रधानमन्त्रीको पदमा बसिरहने कार्य निन्दनीय र अलोकतान्त्रिक भएको पनि ठहर गरेको छ । प्रधानमन्त्री ओलीले देशमा राजनीतिक निकासलाई अवरुद्ध पारेकाले त्यसको विरोध गर्दै देशलाई राजनीतिक निकास दिने कार्यमा अग्रसर हुन सबै राजनीतिक दल तथा सांसदहरूलाई आह्वान गरिएको पनि प्रमुख सचेतक गुरुङले बताउनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले फागुन १९ गते संसदीय दलका २५ प्रतिशत सदस्यले हस्ताक्षर गरी बैठक बोलाउन माग गरेअनुसार शुक्रवार बैठक बसी प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरिको बताउनुभयो । संसदीय दलको बैठकमा एक सय ११ जना सांसदहरूको हस्ताक्षर भएको भन्दै आफ्नो पक्षमा संसदीय दलमा अत्यधिक बहुमत रहेको उहाँले दाबी गर्नुभयो ।

Shivapuri rural municipality awareness message jalapanews

संसदीय दलको बैठकले फागुन १८ गते ताप्लेजुङमा भएको आगलागीको घटनामा पीडितहरूको उद्धार र राहतको मागसमेत गरेको छ । त्यसैगरी शुक्रवार नै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शान्तिपूर्ण बाटोमा लाग्न गरेको निर्णयलाई बैठकले स्वागत पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्