६ चैत्र २०८०, मंगलवार
Logo
final gp koirala advert

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको दुई ठाडो सुरुङमा पाइप जडानको काम पूरा

सरकारले लकडाउन गरे पनि एकाध दिन बाहेक काम नरोकिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सबैभन्दा महत्वपूर्ण र जटिल निर्माणसम्बन्धी काम आइतबार पूरा हुने भएको छ ।

कुल ४५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको जटिल मानिएको दुई ठाडो सुरुङको काम लकडाउनको समयमा सम्पन्न भएको छ ।

आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेका अनुसार कुल ६८३ मिटर लामो दुई ठाडो सुरुङमा पाइप जडानको काम पूरा भएको छ । गएको असारदेखि ठाडो सुरुङमा पाइप जडानको काम सुरु भएको थियो । वर्षदिनमा जटिल काम सम्पन्न भएको हो । 

उहाँले भन्नुभयो, ‘करिब करिब दुई वटा ठाडो सुरुङमा पाइज जडानको काम पूरा भएको छ । केही काम आज राति गरेर भोलि आइतबार पूरा हुनेछ ।’ कुल ३७३ मिटर लामो तल्लो ठाडो सुरुङको पाइप जडान यसअघि नै सम्पन्न भएको छ । पाइप जडानको काम सकिएपछि अस्ट्रियाकाे कम्पनीले थप कामका लागि भारतीय कम्पनीलाई जिम्मा लगाउँछ । एउटा पाइप राख्न न्यूनतम पाँच दिन लागेको थियो । 

Shivapuri rural municipality awareness message jalapanews

तल्लो ठाडो सुरुङको काम अस्ट्रियाकाे निर्माण व्यवसायी एण्ड्रिज हाइड्रोले गरेको हो । कार्यकुशलता देखाउन नसकेको भारतीय निर्माण व्यवसायी टेक्सम्याकोले लकडाउनको समयमा आफूलाई अब्बल सावित गरेको छ । प्राप्त विवरण अनुसार कुल ३१० मिटर लामो माथिल्लो ठाडो सुरुङमा पाइप जडानको काम सकिएको छ । 

प्रवक्ता न्यौपानेका अनुसार अब बाँकी २२ दशमलव ५ मिटरमध्ये २० मिटर शुक्रबारसम्म काम सम्पन्न गरिनेछ । बाँकी २ दशमलव ५ मिटर भने तेर्सो पाइपमा जोड्नुपर्ने भएकाेले जडानकाे लागि थप केही समय लाग्नेछ । ‘सम्पन्न भएको ठाउँमा कङ्क्रिट गर्ने काम बाँकी छ, ती काम सँगसँगै अगाडि बढेका छन् । त्यो काम आउँदो बिहीबारसम्म सकिन्छ । हामी एउटा सकारात्मक अवस्थामा पुगेका छौँ । लकडाउनको समयमा सहज रुपमा काम हुनु आफैमा खुसीको विषय बनेको छ’, प्रवक्ता न्यौपानेले भन्नुभयो । 

माथिल्लो र तल्लो ठाडो सुरुङको बीचको १०० मिटर लामो सुरुङमा पाइप नै जडान गरिने भएकाले असजिलो काम सकिएपछि निर्माण व्यवसायी त्याे कामकाे लागि परिचालित हुनेछ । यो कार्यका लागि थप एक महिना समय लाग्नेछ ।  

तेर्सो  ठाउँमा राखिने केही थान पाइप भारतको कोलकात्तामा छ । कोरोनाले भारतबाट ती पाइप आयातकाे लागि समस्या भएको छ । ‘निर्माण व्यवसायीले ती सामान ल्याउन पहल गरेको छ, कहिले आइपुग्छ भनेर अहिल्यै भन्न सकिने अवस्था छैन’ उहाँले भन्नुभयो, ‘हामीले सकेसम्म ती पाइप ल्याउन निरन्तर आग्रह गरिरहेका छौँ ।’

चालु आव सकिन अझै १७ दिन बाँकी भएकाेले आयोजनाको अन्य काममा भने थप प्रगति हासिल हुने विश्वास लिइएको छ । आयोजनामा लगानी गर्ने शेयरधनी १० लाख बढी छन् । नियमितरूपमा पूर्ण क्षमतामा काम हुन पाएको भए राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम करिब सम्पन्न हुने अवस्थामा पुग्ने थियो ।  

भूकम्प, नाकाबन्दी र कोरोना कहरसँग जुधेर आयोजनाले आयोजना सम्पन्न हुने चरणमा पुगेको छ । यसअघि तय गरिएको कार्यतालिकामा निर्माण सकिएको भए दैनिक करिब पाँच करोड रुपैयाँ बराबरको क्षतिसमेत नहुने अवस्था आउने थियो । 

अहिले सुरुङमा क्रङक्रिट लाइनिङ र ग्राउटिङको काम भइरहेको छ । बाँधस्थलको गएको वैशाखमा नै परीक्षण सम्पन्न भइसकेको छ । प्रसारण लाइन निर्माणको काम पूरा भइसकेको छ ।राष्ट्रिय गौरवको आयोजना भएकाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले लकडाउनको समयमा गृह मन्त्रालयसँग आवश्यक समन्वय गरेर निर्माण सामग्रीको ढुवानीमा सहजीकरण गरी दिनुभएको थियो ।

थप पाइप आयातकाे लागि समेत मन्त्रालयले विशेष पहल गरिरहेको छ । मन्त्री पुनकै पहलमा आयोजनाले यसअघि केही अत्यावश्यक सिमेन्ट, रडलगायत सामग्रीको नियमित आयात  गरेको थियो । आयोजनास्थलमा लकडाउनको समयमा झण्डै ६५० श्रमिक कार्यरत थिए । 

विद्युत् उत्पादन गर्ने उपकरणलगायत सामग्री भने जडान गरेर तयारी अवस्थामा राखिएको छ । पाइप जडानलगायत अन्य प्राविधिक काम सम्पन्न गरेर सकेसम्म चाँडो पहिलो युनिट सञ्चालनमा ल्याउने तयारीमा नेपाल विद्युत् प्राधिकरण जुटेको छ । एउटा युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ । आयोजनामा कुल ६ वटा विद्युत् उत्पादन गर्ने युनिट छन् । 

यस आयोजनाको अहिले भौतिक प्रगति ९९ दशमलव ६ प्रतिशतको हाराहारीमा पुगेको छ । आयोजनाले भने अब प्रगति मापन नगर्ने, काम सम्पन्न गर्ने लक्ष्य राखेको छ । प्रसारण लाइन निर्माण र सबस्टेसनको काम सम्पन्न हुने चरणमा पुगेको छ । कुल २२० केभी क्षमताको प्रसारण लाइन निर्माण सकिएको भए पनि केही मल्टिसर्किटका टावरमा केही काम बाँकी रहेको आयोजनाले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्