१४ मंसिर २०७८, मंगलबार
Logo
Hotel Yangra Nuwakot Trishuli

केउरेनीको खेल मैदान निर्माणमा काँग्रेसको अवरोध, ७१ लाख बजेट जोखिममा

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ स्थित केउरेनीमा खेल मैदान निर्माण गर्न लागिएकोमा अवरोध सिर्जना भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ं को नेतृत्व रहेको बेलकोटगढी नगरपलिकाले गत मंसिर १२ गते खेल मैदान निर्माण गर्ने निर्णय गरेको भएपनि नेपाली काँग्रेसको चलखेलमा स्थानीयले अवरोध गर्दा हालसम्म निर्माण प्रक्रिया अघि बढ्न नसकेको हो । बेलकोटगढी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष अनन्त नेपालले आर्थिक वर्ष सकिन लाग्दा पनि केही स्थानीयले विरोध गर्दा निर्माण सुरु हुन नसकेको बताए । ‘नगरपालिकाले मंसिर १२ गते नै केउरेनीस्थित त्रिशूली नदी किनारमा रहेको सार्वजनिक जग्गामा खेल मैदान निर्माण गर्ने निर्णय भएपनि केही स्थानीयको विरोधका कारण काम सुरु हुन सकेको छैन’, उनले भने, ‘हामीले सहमतिको प्रयास गरिरहेका छौं, सहमति जुट्नेबित्तिकै निर्माण कार्य थाल्छौं ।’

pratik books stationery
trishuli web design in nuwakot

सो खेलमैदान निर्माणका लागि संघीय सरकारले ५० लाख बिनियोजन गरेको छ भने नगरपालिकाले २१ लाख बजेट बिनियोजन गरेको छ । तर, आर्थिक वर्ष सकिन लाग्दा पनि काम सुरु हुन नसक्दा कूल ७१ लाख बजेट फ्रिज हुने खतरा बढेको छ । खेल मैदान बनाउने भनिएको जग्गामध्ये केही भागमा स्थानीय ४ जनाले खेतीपाती गर्दै आएका छन् । जुन सार्वजनिक जग्गा हो । खेलमैदान सबैको पायक पर्ने स्थानमा नभएको तथा बर्षामा त्रिशूलीको बाढीले समेत बढाउन सक्ने भएकाले यस्तो अन्यत्र मैदान निर्माण गर्नुपर्ने स्थानीयको अडान छ । यसबाहेक सो स्थानमा रहेको मन्दिर र मरणपाटी समेत रहेकाले सो भत्काउनुपर्ने हुँदा आफूहरुलाई मान्य नहुने समेत स्थानीयको अडान छ । खेल मैदान निर्माण गर्न एकलौटी समिति गठन गरिएकाले पुनः नगरबासीहरुको भेला गरी सर्वसम्मतबाट प्रस्ताव आएको स्थानमा उक्त खेलमैदान निर्माण गर्नुपर्ने समेत उनीहरुको माग छ ।

आफूहरुको माग सुनुवाइ नभइ जबरजस्ती गर्न खोजिए सशक्त प्रतिवाद गरिने स्थानीयले चेतावनी दिएका छन् । तर वडाध्यक्ष नेपाल भने राजमार्गबाट नजिक रहेको तथा नगरपालिकालाई मात्रै नभइ छिमेकी जिल्ला धादिङका खेलप्रेमीका लागि समेत यो ठाउँ उपयुक्त रहेकाले निर्माणमा सबैले सहयोग गर्नुपर्ने बताउँछन् । नगरपालिकाले महत्वका साथ अघि बढाएको यो खेल मैदानमा अवरोध भएसँगै केही सरोकारवालाले यसमा अनावश्यक राजनीति भएको आरोप लगाएका छन् ।

एक स्थानीयका अनुसार यो खेल मैदान निर्माण गर्न नदिन भन्दै नेपाली काँग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीसहित काँग्रेसका स्थानीय नेताले स्थानीयलाई उचालेका छन् । उनीहरुकै सहयोगमा अहिले खेलमैदानको विषयमा अनावश्यक राजनीति भनेको ती स्थानीयको भनाइ छ । वडाध्यक्ष नेपालले पनि खेल मैदान उपयुक्त स्थानमा निर्माण गर्न लागेकाले कसैले राजनीतिकरण गर्न नहुनेमा जोड दिए । केउरिनीमा खेल मैदान निर्माण गर्दा यो क्षेत्रमा चहलपहल बढ्दै आर्थिक उपार्जनका माध्यमसमेत बढ्ने नगरपालिकोका भनाइ छ।

प्रतिक्रिया दिनुहोस्