११ माघ २०८१, शुक्रबार
Logo

दानाको अभाव भएपछि कुखुराले कुखुरा खाँदै

लकडाउनका कारण पाँचथरमा अहिले कुखुराको मासु खपत नहुँदा कुखुरापालक कृषक तथा पोल्ट्रीफार्म डिलरहरु समस्यामा परेका छन् । 

लकडाउनको समयमा मात्रै रु तीन करोडको कुखुरा अहिले जाममा परेको छ भने अर्कोतिर ती कुखुरालाई दिने दानाको समेत अभाव हुँदा कृषक र व्यवसायी मर्कामा परेका हुन् ।
 
फिदिम नगरपालिका–२ पल्लोटारका कृष्ण मुरारी ओझाले लकडाउनको समयमा ब्रोइलर कुखुराको चल्ला लगाए, उनले लगाएको चल्ला आजसम्म ७५ दिनको भइसक्यो । फ्रेसहाउस नखोलिनु र मासुको खपत नभएपछि अहिले उनको मात्रै रु १५ लाख बढीको कुखुरा अब खपत हुनेमा शङ्कै छ । उनी भन्छन्, “अब बैंकको ऋणको किस्ता कसरी तिर्ने, अवस्था यस्तो भयानक भयो, अब यसतर्फ राज्यको पनि ध्यान पुगोस् ।”

यस्तै फिदिम–४ थाक्लेमा केशव खनालले लगाएको एक हजार १०० कुखरामा अहिले दानाको अभाव र समयमै कुखुरा नउठाइदिँदा कुुखराले कुखुरालाई नै ठुँगेर र चारो खान नपाएर ३५० बढी कुखुरा मरिसकेका छन् । “रु १० लाखको कुखरा लगाइयो, अब बैंकबाट ऋण लिएर लगाएको कुखुरा नउठाइदिँदा त्यो पैसा कसरी तिर्ने कुनै उपाय छैन, यसका लागि सम्बन्धित निकायले हामीलाई पनि हेरिदिनुपर्यो”, खनालले भने ।

उनीहरू त प्रतिनिधि पात्र मात्रै हो, उनीहरूजस्ता धेरै कृषकले लगाएको कुखुरा अहिले जाममा परेको छ । चल्ला लगाएको ४५ दिनदेखि ५० दिनभित्रमा कुखुराको चल्ला उठाइसक्नुपर्ने हुन्छ तर अहिले १०० दिन कटेको कुखुरा पनि डिलर्सले उठाउन सकेका छैनन् जसका कारण पाँचथरमा मात्रै रु तीन करोड बढीको कुखुरा अहिले खपत हुन नसकेको पोल्ट्री हाउस सञ्चालक बताउँछन् ।

Shivapuri rural municipality awareness message jalapanews

पाथीभरा पोल्ट्रीफार्मका सञ्चालक कुमार खरेलले भने, “चारो झापाबाट ल्याउनुपर्ने हो, नियमितरूपमा ल्याउन सकिएको छैन, ल्याएको चारो सबै कुखुरापालक कृषकलाई पु¥याउन सकिएको छैन, कुखुराको खपत छैन, लकडाउनका कारण फ्रेसहाउस बन्द छन्, पोल्ट्री सञ्चालक, कुखुरापालक कृषक मर्कामा परेका छन् ।”

यसअघि दैनिक ५०० बढी कुखुरा सदरमुकाम फिदिममा मात्रै खपत हुने गरेको थियो । अहिले पाँचवटा सम्म कुखुरा बिक्री हुने अवस्था नभएको फ्रेसहाउसहरु बताउँछन् । अब राज्यले क्षतिपूर्ति दिनुपर्ने तथा बिनाब्याज ऋण उपलब्ध गराउनुपर्ने कुखुरापालक कृषकको माग छ । 

कुखुरापालक कृषक अहिले दोहोरो मारमा परेका छन्, एकातिर डेढ महिनामा उठाउनुपर्ने कुखुरा तीन महिनामा पनि डिलरले उठाउन सकेको छैन भने अर्कोतिर कुखुराको वजन निरन्तर घट्ने भएको हुँदा कृषक दोहोरो मारमा परेका हुन् । अब यी कुखुराको मासु खपत भइसक्न लकडाउन खुलेर सहज परिस्थिति भयो भने पनि झण्डै दुई महिना लाग्ने पोल्ट्रीफार्र्म डिलर्सहरु बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्