राष्ट्रियसभा चुनाव : प्रदेश २ मा नेकपा र राजपा गठबन्धनका चारै जना विजयी
काठमाण्डौ – राष्ट्रिय सभा चुनाव अन्तर्गत प्रदेश २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा)को गठबन्धनका चारै जना उम्मेदवार विजयी भएका छन् ।
दुबै दलले २-२ सिट बाँडेर चुनावमा होमिएका थिए । विपक्षी कांग्रेस र समाजवादी पार्टीको गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा र राजपा गठबन्धनका उम्मेदवारले जित हात पारेका हुन् ।
प्रदेश २ बाट महिलातर्फ तुलसा दाहाल, दलित तर्फ राधेश्याम पासवान र अन्यतर्फ मृगेन्द्रकुमार सिंह र अल्पसंख्यकतर्फ शेखरप्रसाद सिंह विजयी हुनुभएको हो ।
विजयी हुनुभएका दाहाल र पासवान नेकपातर्फबाट हुनुहुन्छ भने यादव र सिंह राजपाको तर्फबाट हुनुहुन्छ । महिलातर्फ विजयी दाहालले विपक्षी कांग्रेसकी उम्मेदवार नगिना यादवलाई ५६८ मतभारले पराजित गर्नुभएको हो । दाहालले ५२०८ मतभार प्राप्त गर्दा कांग्रेसकी यादवले ४६४० मतभार प्राप्त गर्नुभयो ।
यस्तै दलिततर्फ विजयी राधेश्याम पासवानले ५ हजार २ सय ९२ मत ल्याउँदा विपक्षी समाजवादी पार्टीका रामप्रित पासवानले ४ हजार ७ सय ४ मत ल्याउँदै पराजित हुनुभयो ।
यस्तै अल्पसंख्यकतर्फ विजयी राजपाका शेखकरप्रसाद सिंहले कांग्रेसका भोला पञ्जियारलाई पराजित गर्नुभयो । राजपाका सिंहले ५५०२ मतभार ल्याएर विजयी हुँदा कांग्रेसका भोला पंजियार ४५१२ मतभार ल्याउँदै पराजित हुनुभयाे ।
अन्य तर्फ राजपाका मृगेन्द्रकुमार सिंह विजयी हुँदा समाजवादीका अनिरुद्धकुमार सिंह पराजित हुनुभयो । मृगेन्द्रकुमार सिंह र अनिरुद्धकुमार सिंह नातामा दाजुभाइ हुनुहुन्छ ।
चुनावमा भाइ अनिरुद्धलाई दाइ मृगेन्द्रले ८८८ मतभारले पराजित गर्नुभयाे । मृगेन्द्रले ५४ सय मत ल्याउँदा अनिरुद्धले ४५१२ ल्याएकाे निर्वाचन आयाेगले जनाएकाे छ ।
चुनावमा नेकपासँग राजपा र कांग्रेससँग समाजवादीले छुट्टाछुट्टै गठबन्धन गरी प्रतिस्पर्धामा उत्रिएका थिए ।
उज्यालोबाट
प्रतिक्रिया दिनुहोस्