म एक्लो हिड्दैमा त्यो सुनसान सडकमा किन तिमिबाट बलात्कार हुनु पर्ने ?
रुपा थापा- मैले खोजेको म । म यानकि म मात्र
म निश्कदा खेरि निश्कने प्रश्नहरु ?
मेरा पाइलाहरुले दिन नचाहदा
दुनियाको नजरमा बिझेको मेरो अटेरी पाइलाहरुले
तिम्रो प्रश्नको जवाफ दिन्न भन्न पाउने कि नपाउने ?
म निस्कदा खेरि
म संगै निस्कने तिम्रा इज्जतहरु संग
लुटिएको मेरो अस्तित्वको मैले खोजि गर्दा
फेरि नजरहरु मैले किन झुकाउनु पर्ने ?
मैले मेरा नजरहरु नझुकाइकन
मेरो इज्जतको लागि लड्दा खेरि
तिम्रा नजरहरुसंग ससंकित भएर
फेरि म किन भाग्नु पर्ने ?
मैले खोजेको म । म यानकि म मात्र
त्यो सुनसान सडकमा एक्लै हिड्न म किन डराउनु पर्ने ?
मध्यरातको त्यो सुन्यतामा पुर्णेको दिन उदाएको
त्यो जुनसंग मलाइ पनि त एक्लै यात्रा गर्न मन लाग्छ
कैले काहि त्यो अन्धकार औसिको रातमा
टल्किएको त्यो उल्लुको आखाहरुले देखाएको बाटो
एक्लै हिड्न मलाइ पनि त मन लाग्छ
मैले खोजेको म भित्र म तिमि संग किन डराउनु पर्ने ?
मेरा पाइलाहरु पाइलै पिच्छे
तिम्रा पाइलाहरुसंग किन ससंकित हुनु पर्ने ?
के तिम्रा पाइलाहरु त्यति खराव छन
त्यो ब्वासोको पाइलाले शिकारको पिछा गरे झै
किन मेरा प्रत्येक पाइलाहरुको पिछा गर्छ ?
मैले लगाएको छोटो स्कर्टले तिम्रा नजरहरु लोभिए रे
उफ कत्ति सहज छ नि तिमिलाइ जवाफ दिन
तर के भर्खरै जीन्दगीलाइ बुझ्दै गरेकि
त्यो अवोध बालिकाले पनि त्यसैगरि
तिम्रा नजरहरुलाइ लोभ्याइ त ?
तिम्रा लोभि नजरहरुलाइ तिमिले सुधार्ने कि
मैले मेरो बाटोहरु बदल्ने
तर तिम्रा पाइलाहरुसंग भागेर
मैले मेरो बाटोहरु किन बदल्नु पर्ने ?
मैले खोजेको म । म यानकि म मात्र
म मेरो योनिसंग सुनसान त्यो रातमा निस्कदा
मेरो इज्जत लुट्टिनै पर्छ भन्ने छ र ?
किन मेरो योनि नै
मेरो मृत्यृको कारण बन्नु पर्छ भन्ने छ र ?
यहा त तमासा बन्छ मेरो मृत्यृको पनि
अनि प्रश्नहरु बर्षिन थाल्छ ?
त्यो योनि संग तैले हिड्नु हुदैन थियो
एक्लै त्यो सुनसान ठाउमा
ति ब्वासोहरुले यदि मेरो बाटो नढुकेको भए
मेरो योनि नै मेरो मृत्यृको कारण बन्थ्यो र ?
मैले खोजेको म । म यानकि म मात्र
आखिर कहिले सम्म त्यहि एउटा योनिको कारण
तिमि संग डराएर भाग्नु पर्ने ?
म एक्लो हिड्दैमा त्यो सुनसान सडकमा
किन तिमिबाट बलात्कार हुनु पर्ने ?
प्रतिक्रिया दिनुहोस्