नेपाललाई भारतको नयाँ नक्सा अमान्य, परराष्ट्रले भन्यो- कालापानी नेपालकै हो

नेपाल सरकारले भारतले जारी गरेको नयाँ राजनीतिक नक्सालाई मान्य नहुने बताएको छ । परराष्ट्र मन्त्रालयले बुधवार प्रेस विज्ञप्ति निकालेर कालापानी क्षेत्र नेपालको भूभाग रहेको भन्दै भारतको नयाँ नक्सा मान्य नहुने बताएको हो ।
बुधबार परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै एक पक्षीय ढंगबाट गरिने कुनैपनि निर्णय नेपाललाई मान्य नहुने उल्लेख गरेकोछ । यस्तै, कालापानी क्षेत्र नेपालको भू–भाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट रहेको कुरापनि विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ,‘दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धि विषयहरुको दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनुपर्ने र एक पक्षीय ढंगबाट गरिने कुनैपनि निर्णय नेपाल सरकारलाई मान्य नहुने कुरा स्पष्ट छ । ’
भारत सरकारले जारी गरेको नयाँ राजनीतिक नक्साका विषयमा आएका समाचार र टिप्पणीप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै परराष्ट्रले सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवं तथ्य प्रमाणहरुको आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा दृढ रहेको समेत जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्