१८ असार २०७९, शनिबार
Logo
final gp koirala advert

इँटा भट्टामा जिउँदै मानिस जलाएको घटनाकाे सबै प्रमाण मसँग छ: प्रत्यक्षदर्शी मियाँ

काठमाण्डाै  – रौतहट बमकाण्ड लुकाउन र मुख्य दोषीलाई बचाउन त्यतिबेला राज्य नै लागेको खुलासा भएको छ । न्यायका लागि १२ वर्षयता कानुनी लडाईं लड्दै आएका मृतक ओसी अख्तरका ससुरा समसुल मियाँले राज्यको सबै निकायलाई घटना लुकाउन र दोषीलाई उन्मुक्ति दिन दुरुपयोग गरेको खुलासा गर्नुभएकाे छ ।

रिपोर्टर्स क्लब नेपालमा शनिबार पत्रकार सम्मेलन गर्दै मियाँले जतिसुकै समय लागे पनि सत्यको जित हुने बताउँदै दोषीलाई कारबाही गराएरै छाड्ने बताउनुभयाे । उहाँले भन्नुभयाे,‘राज्य नै घटना लुकाउन र दोषीलाई बचाउन लागेको प्रमाण मसँग छ ।’

Shivapuri rural municipality awareness message jalapanews

तत्कालीन सरकार, प्रहरी प्रशासन सबै मिलेर घटना दबाएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयाे,‘म यही रिपोर्टर्स क्लबको मञ्चमा उभिएर न्यायको भीख माग्न आएको थिएँ, तर सुनुवाई भएन ।’

१२ वर्ष अगाडि यही घटनाबारे सबैलाई जानकारी गराउँदा पनि कहीँ कतैबाट सुनुवाइ नहुँदा दोषीले टाउको उठाएर हिंडेको उहाँले गुनासाे गर्नुभयाे ।

उहाँले भन्नुभयाे,‘घटनामा महताब आलम, अफताब आलम, शेख भदै (सेराज), कृष्ण लामालगायतको प्रत्यक्ष संलग्नता छ ।’

घटनामा नेपाली कांग्रेसका तत्कालीन संविधानसभा सदस्यका उम्मेदवार अफताब आलमको प्रत्यक्ष निर्देशनमा बम बिष्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँट्टा भट्टामा हालिएको उहाँले बताउनुभयाे । घटनामा तत्कालीन सशस्त्रप्र हरीका एसपी कृष्ण लामा प्रत्यक्ष संलग्न भएको र रौतहट प्रहरीका प्रमुख एसपी लक्ष्मण न्यौपानेले पनि भूमिका खेलेको उहाँकाे आरोप थियाे ।

उहाँले भन्नुभयाे,‘प्रहरी प्रशासनको संलग्नतामा सबै मिलेर ट्याक्टरबाट घाइते बोकेर जलाइएको थियो ।’ 

घटनाको विस्तृत विवरणबारे जानकारी दिँदै मध्यराततिर राजा इँटा भट्टा पुर्याइएको उहाँले सुनाउनुभयाे । उहाँले भन्नुभयाे ‘बोराबाट सिधै इँटा पोल्ने भट्टाभित्र हालेर मारेको हो । त्यहाँ जीवित रहेका व्यक्तिलाई समेत जिउँदै मारिएको छ ।’

हत्या हुँदा सशस्त्रका तत्कालीन एसपी कृष्ण लामा पनि राजा इँट्टा भट्टामै रहेको उहाको दावी थियाे । घटनाबारे आफूसँग प्रशस्त प्रमाण रहेको जनाउँदै अनुसन्धानमा सघाउन ती सबै प्रमाणहरु प्रहरीलाई दिइसकेको बताउनुभयाे ।  

घटना भएको समयमा सर्लाहीमा भएको जनाउँदै घटनाबारे जानकारी पाउनसाथ घटनास्थलमा पुगे पनि प्रशासनले विष्फोट भएको ठाँउमा जान नदिएको भन्दै उहाँले भन्नुभयाे, ‘आफ्नो मान्छे  मारिएको भन्दा पनि हामीलाई घटनास्थलसम्म पुग्न दिइएन । रातभर गहुँबारीमा लुकेर हेरेर बसें ।’

घटनामा एक एक गरेर इँट्टा भट्टामा मानिसलाई जिउँदै हालेको देखेको उहाले सुनाउनुभयाे । उहाँका अनुसनर केही घाइते भाग्न पनि सफल भएका थिए । 

घाइतेमध्ये एक जना अहिले पनि जिवितै रहेको बताउँदै उहाँले ती घाइतेबाट प्रमाण जुटाएको बताउनुभयाे । घटनापछि हत्याको सबै दृश्य देखेको सुनाउँदै बिहान चार बजे गण्डक नहर हुँदै ज्यान जोगाएर भागेको साथै आफ्नो ज्वाईँलाई जिउँदै भट्टामा हालेर मारेको प्रत्यक्ष देख्ने अर्को व्यक्ति पनि जीवितै रहेको उहाँले सुनाउनुभयाे । उज्यालोबाट

प्रतिक्रिया दिनुहोस्