१२ श्रावण २०८१, शनिबार
Logo

महरा अस्पताल भर्ना, मुटु र स्वासप्रस्वासमा समस्या देखिएको चिकित्सकको भनाइ

बलात्कार प्रयास गरेको आरोपमा गत आइतबार पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको मुटु र स्वासप्रस्वासमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले उनको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै जानकारी दिए अनुसार नियमित स्वास्थ्य परिक्षणका लागि अस्पताल पुर्‍याइएका महराको स्वास्थ्य परिक्षण पश्चात अस्पताल नै भर्ना गर्नुपर्ने अवस्था देखिएको छ।

‘उपचारमा स‌ंलग्न चिकित्सकले नै भर्ना गर्नुपर्छ भनेपछि अस्पताल भर्ना गरिएको हो,’ उनले भने।

महराको पक्राउ परेको दिनदेखि नै रक्तचाप अनियन्त्रित भएको थियो भने स्वासप्रस्वासमा पनि केही समस्यादेखिएको थियो। त्यसपछि हिरासतमै उनलाई अक्सिजन दिने व्यवस्था प्रहरीले मिलाएको थियो।

Shivapuri rural municipality awareness message jalapanews

महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सभामुख निवास बालुवाटारबाट नियन्त्रणमा लिएको थियो। यौन दुर्व्यवहारको आरोप लागेपछि गत सोमबार राजीनामा दिएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले आइतबार पक्राउपूर्जि जारी गरेको थियो।

संसद् सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी (कर्मचारी) रोशनी शाहीले शनिबार महानगरीय प्रहरी वृत्त बानेश्वरमा आफूमाथि महराले बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएपछि महरालाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन प्रहरीलाई बाटो खुलेको हो।

प्रहरीले गत शुक्रबार नै पीडित महिलाको स्वास्थ्य परिक्षण गराइसकेको छ भने उनको कोठाबाट प्राप्त प्रमाणहरुको पनि फोरेन्सिक जाँच गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्