चौधौँ योजनाका धेरै लक्ष्य पूरा भएनन्

काठमाण्डौ – चौधौँ आवधिक योजनाका धेरैजसो लक्ष्य पूरा भएका छैनन् । राष्ट्रिय योजना आयोगले प्रकाशन गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ देखि आर्थिक वर्ष २०७५/७६ सम्मको चौधौँ योजनाका लागि तय गरेका धेरै लक्ष्य पूरा नभएका हुन् ।
चौधौँ योजनाको अन्त्य अर्थात गएको आर्थिक वर्षसम्म आर्थिक वृद्धिदर ७ दशमलव २ प्रतिशत लक्ष्य रहेकोमा प्रगति भने जम्मा ६ दशमलव ९ प्रतिशत मात्रै भएको छ ।
यस्तै कृषि क्षेत्रको वार्षिक औसत वृद्धिदरको लक्ष्य ४ दशमलव ७ प्रतिशत रहेकोमा ४ दशमलव २ प्रतिशत मात्रै हासिल भएको छ । गैरकृषि क्षेत्रको वार्षिक औसत वृद्धिदरको लक्ष्य ८ दशमलव ४ प्रतिशत रहेकोमा प्रगति ८ प्रतिशत हासिल भएको छ ।
मुद्रास्फितिमा भने सकारात्मक परिणाम देखिएको छ । गत आर्थिक वर्षसम्म मुद्रास्फिति ७ दशमलव ५ प्रतिशतमा झार्ने लक्ष्य रहेकोमा मुद्रास्फिति ४ दशमलव ४ प्रतिशतमा झरेको छ ।
यस्तै प्रतिव्यक्ति कुल ग्राह्स्थ उत्पादन उत्पादन प्रतिहजारमा १ सय १६ दशमलव ५ प्रतिशत पुर्याउने लक्ष्य रहेकोमा लक्ष्यभन्दा राम्रो प्रगति हासिल भएको छ । यस्तै गरिबीको रेखामुनि रहेको जनसंख्या १७ प्रतिशतमा झार्ने लक्ष्य रहेकामा जम्मा १८ दशमलव ७ प्रतिशतमा झरेको छ ।
यस्तै खानेपानीको सेवा पुगेको जनसंख्या ९० प्रतिशत पुर्याउने लक्ष्य रहेकोमा जम्मा ८९ प्रतिशत जनसंख्याको पहुँचमा मात्रै खानेपानीको पहुँच पुगेको छ ।
यस्तै कक्षा ९ देखि १२ सम्मको खुद भर्नादर ४५ प्रतिशत पुर्याउने लक्ष्य रहेकोमा लक्ष्य भन्दा धेरै ४६ दशमलव ९ प्रतिशत पुगेको छ ।
विद्युत उत्पादन जडित क्षमताको लक्ष्य पनि पूरा भएको छैन । चौधौँ योजनाको अन्तिमसम्म २३ सय १ मेगावाट विद्युत उत्पादनको लक्ष्य रहेकोमा योजनाको समाप्ति अर्थात गएको आर्थिक वर्षसम्म जम्मा १३ सय २५ मेगावाट विद्युत उत्पादन भएको छ ।
यस्तै चौधौँ योजनाको समाप्तिमा ८७ प्रतिशत
परिवारमा बिजुली पुर्याउने लक्ष्य रहेकोमा लक्ष्यभन्दा धेरै ९० दशमलव ७
प्रतिशत परिवारमा विद्युत पुगेको छ ।
१५ लाख २ हजार हेक्टर क्षेत्रमा सिँचाइ पुर्याउने लक्ष्य रहेकोमा १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुगेको छ ।
चौधौँ योजनाको अन्तिमसम्म ६५ प्रतिशत नागरिकमा इन्टरनेट पुर्याउने लक्ष्य रहेकोमा ६३ दशमलव ३१ प्रतिशत जनसंख्यामा मात्रै इन्टरनेट पुगेको छ ।
यस्तै आधारभूत स्वास्थ्य सेवामा लक्ष्यभन्दा धेरै प्रगति भएको छ । ८९ प्रतिशत जनसंख्या आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्य रहेकोमा चौधौँ योजनाको अन्तिमसम्ममा ९९ दशमलव ७ प्रतिशत जनसंख्यामा पुगेको राष्ट्रिय योजना आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्