१२ श्रावण २०८१, शनिबार
Logo

गाई मार्नेलाई कारवाही हुन्छ : गृह मन्त्रालय

 

काठमाडौं : गाई मार्नेलाई कारवाही गर्ने प्रतिबद्धता गृह मन्त्रालयले जनाएको छ। अनुसन्धानका लागि समिति गठन गरिएको जानकारी गराउँदै शनिबार गृहले दोषीलाई कानुन बोमोजिमको कारवाही गर्ने प्रतिबद्धता जनाएको हो।

‘गौहत्या जस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिहरुलाई कानुन बमोजिम हदैसम्मको कारवाही गरिने र कुनै पनि किसिमको उन्मुक्ति नदिइने कुरामा समेत गृहमन्त्रालय प्रतिबद्ध रहेको व्यहोरासमेत जानकारीको लागि अनुरोध छ’, मन्त्रालयद्वारा सार्वजनिक विज्ञप्तिमा भनिएको छ।

शुक्रबार  नेपालगंजबाट नियन्त्रणमा लिइएका छाडा चौपाया सुर्खेतमा ल्याएर भीरबाट खसालिएको थियो। नेपालगंज उपमहानगरपालिकाले नियन्त्रणमा लिएर काञ्जिहाउसमा राखिएका गाई सुर्खेतमा भीरबाट खसालिएकाे हो।

नेपालगंजबाट ट्रकमा राखेर ल्याइएका २ सय ९१ वटा गाईमध्ये वीरेन्द्रनगरस्थित कटकुवाको जंगलमा करिब तीन दर्जन गाई मरेको अवस्थामा भेटिएका थिए। गृहका अनुसार बिहीबार नेपालगंजबाट दैलेख लैजाने भनि ल्याइएका ती गाई भीरबाट खसालेर मारिएका हुन्। रातको समयमा भीरबाट खसालिएका मध्ये डेढ सय भन्दा बढी गाई घाइते छन्।

स्थानीय बासिन्दाले भीरबाट खसालेर सामूहिक गौहत्या गरिएको आरोप लगाएका छन्। ट्रकमा राखेर ल्याइएका गाई भीरबाट खसालेर मारिएको र जंगलमा अलपत्र अवस्थामा छाडिएको भन्दै दोषीलाई कारबाही गर्न स्थानीयले माग गरेका हुन्।

गृहमन्त्रालयले गौहत्याको छानबिन गर्न समिति समेत गठन गरेको छ। समितिलाई १५ दिनको समय दिइएको छ। गृहले उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेकाे हो।

प्रतिक्रिया दिनुहोस्