१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटका सुजन पाैडेलसहित तीन जना रक्तचन्दनको तेलसहित पक्राउ

नेपाल प्रहरीले बहुमूल्य वनस्पति रक्तचन्दनको तेलसहित तीन युवालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले काठमाडौँ महानगरपालिका–१६ नयाँबजारबाट रक्तचन्दनको तेलसहित नुवाकोट बेलकोटगढी ११ का २६ वर्षीय सुजन पौडेल, धादिङ धुनिवेशी नगरपालिका वडा नम्बर ३ का ५३ वर्षीय अच्युत केसी र  सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा नम्बर ५ का ४३ वर्षीय जीत लामालाई मङ्गलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले लामा बस्ने कोठामा प्लाष्टिकको बोराले छोपेर राखेको अवस्थामा सिल्भरको गाग्रोमा ४५ लिटर रक्तचन्दन फेला पारेको जानकारी दिए । “पक्राउ परेकाले नयाँबजारको सोसल खेलमैदानमा रक्तचन्दनको कारोवार गर्ने गरेको अनुसन्धानबाट खुलेको छ”, उनले भने । रक्तचन्दनको तेल लामाको कोठाबाट बरामद गरे पनि उक्त कारोवारमा केसी र पौडेलसमेत संलग्न रहेको राठौरले बताए ।

रक्तचन्दन साइटिस महासन्धिमा सूचीकृत वनस्पति हो । दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) को पक्ष राष्ट्र नेपाल भएकाले रक्तचन्दन नेपालमा ओसारपसार गर्नेलाई कानूनी कारवाहीको व्यवस्था गरिएको छ । पक्राउ परेका तीनै जनासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ । रक्तचन्दनको तेल प्रतिलिटर एक लाख रूपैयाँसम्ममा बिक्री हुनेगरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्