१२ श्रावण २०८१, शनिबार
Logo

श्रीमती भारतमा कोठी चलाउने, श्रीमान् नेपालबाट युवती पुर्‍याउने

भारतको कोलकातामा कोठी (वेश्यावृत्तिका लागि तोकिएका घर) सञ्चालन गर्ने नुवाकोटका एक युवकलाई प्रहरीले प*क्राउ गरेको छ।

कोलकाताको ‘रेड लाइट’ क्षेत्र सोनागाक्षीमा कोठी सञ्चालन गर्ने राजु स्याङ्तान भन्ने अजय लामा र उनका सहयोगी राजु तामाङलाई महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले शनिबार प*क्राउ गरेको हो।

नुवाकोटकी २० वर्षीया युवती लिएर भारत हिँडेका दुवैलाई विशेष सूचनाका आधारमा परिसर टोलीले भक्तपुरको जगातीबाट प*क्राउ गरेको हो। उद्धार गरिएकी युवतीको बयानका आधारमा प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

महानगरीय प्रहरी परिसरका अनुसार काठमाडौंबाट काँकडभिट्टा चल्ने बा ४ ख ८०१ नम्बरको हायस माइक्रो बसमा रहेका तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हाे।

‘विशेष सूचनाका आधारमा पक्राउ गरेका हौं,’ परिसरका डीएसपी होविन्द्र बोगटीले भने, ‘युवतीलाई राम्रो जागिरको प्रलोभन देखाएर भारत लगिँदै थियो।’

उनका अनुसार प*क्राउ परेका अजयको मोबाइलबाट समेत उनी चेलिबेटी बेचबिखनमा सक्रिय रहेको खुलासा भएको छ।

भारतमा आफूले धेरै युवतीलाई लगेर राम्रो जागिर दिएको भन्दै नुवाकाेटकी ती युवतीलाई उनले फकाएका थिए। प्रहरीले उद्धार गरेपछि मात्र ती युवतीले आफू बेचिन भारत लाँदै गरिएकाे चाल पाएकी थिइन्।

मोबाइलबाटै भारतमा युवतीको ‘बार्गेनिङ’

मानव बेचबिखन तथा ओसारपसारमा अभियाेगमा प्रहरीले आइतबार काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर हिरासतमा राखेकाे अजयको मोबाइलमा नेपाली युवतीहरुको फोटो र उनले भारतका विभिन्न सहरमा रहेका कोठी सञ्चालकसँग बार्गेनिङ गरेको विवरण फेला परेको छ।

उनकी श्रीमतीले कोलकाताको सोनागाक्षीमा सञ्चालन गरेको कोठीबाहेक अन्य स्थानमा समेत अजयले युवतीको मोलमोलाइ गरेको विवरण प्रहरीले फेला पारेको हो।

‘यो गिरोहले धेरै युवती भारत पुर्‍याएकाे मोबइलमा भेटिएका विवरणले पुष्टि गर्छ,’ डीएसपी बोगटीले भने, ‘समूहका नाइके र कोलकाता-नुवाकोट कनेक्सन खोतल्दै छौं।’

अनुसन्धान अधिकारीका अनुसार कुख्यात चेलीबेटी तस्कर सुनबहादुर तामाङसँग समेत अजयकाे सम्बन्ध हुनसक्ने तथ्य प्रारम्भिक अनुसन्धानले देखाएकाे छ।

प्रहरीलाई अभियुक्त अजयले दिएको प्रारम्भिक बयानमा नुवाकोटकै डोल्मा तामाङ र पिङकी तामाङलाई कोलकातामै लगेर बेचेको खुलेको छ। ‘उसले प्रेम, नक्कली विवाह र रोजगारीको प्रलोभनमा युवती भारत पुर्‍याउने गरेको हो,’ डीएसपी बोगटीले भने, ‘हामीले नुवाकोट प्रहरीसँगको सहकार्यमा वि*स्तृत अनुसन्धान गर्छौं।’

नुवाकोटको खरानीटारका अजय र राजु दुवैले नागढुङगा नाकामा चेकजाँच धेरै हुने भएकाले सिन्धुली हुँदै युवतीलाई सर्लाहीबाट भारत पुर्‍याउने योजना बनाएका थिए। प्रहरीलाई आएको विशेष सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पच्छयाईरहेको हो। प*क्राउ परेका दुवैजना ३० वर्षभन्दा कम उमेरका छन्।

‘युवतीलाई सुरुमा मोटो रकम दिने ग्राहक कहाँ पुर्‍याउने,’ अनुसन्धान अधिकारी भन्छन, ‘केही महिनापछि बन्धक बनाएर यौन धन्दामा लगाउने गरेको खुलेको छ।’(नेपालखबरबाट)

प्रतिक्रिया दिनुहोस्