२८ कार्तिक २०८१, बुधबार
Logo

पत्रकारको रहस्यमय मृत्यु : होटेल सञ्चालकविरुद्ध किटानी जाहेरी

पुडासैनीको शव काठमाडौंस्थित शिक्षण अस्पतालमा पोस्टमार्टम गरिने

सञ्चारकर्मी शालिग्राम पुडासैनी नारायणगढस्थित पोखरा बसपार्कको होटेल कंगारुमा मृत फेला परेका छन् । नुवाकोटको बेलकोटगढी नगरपालिका–३ घर भएका २७ वर्षीय पुडासैनी झुन्डिएको अवस्थामा फेला परेका हुन् ।  परिवारका सदस्यले उनको हत्या भएको आशंका गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले भने अनुसन्धानपछि मात्र हत्या हो वा आत्महत्या भन्ने खुल्ने जानकारी दिए ।

डेढ वर्षअघि न्युज २४ बाट पत्रकारिता सुरु गरेका पुडासैनी हाल माउन्टेन टिभीमा कार्यरत थिए । पुडासैनीको शव काठमाडौंस्थित शिक्षण अस्पतालमा पोस्टमार्टम गरिने भएको छ । प्रहरी र परिवारका सदस्यबीच त्यस्तो सहमति भएको एसपी मल्लले बताए । ‘यही पनि पोस्टमार्टम हुन्छ, तर आफन्तले काठमाडाैं नै लैजाने भने पछि हामीले पनि हुन्छ भनेका हौँ,’ एसपी मल्लले भने । मृत्युको कारण पनि पोस्टमार्टमको रिर्पोट आएपछि मात्रै थाहा हुने भएकाले अहिले नै केही भन्न नसकिने उनले बताए ।

घटना सार्वजनिक भएलगत्तै भरतपुर अस्पतालका फरेन्सिक चिकित्सक र जिल्लास्थित सरकारी वकिलसमेत घटनास्थलमा पुगेका थिए । घटना रहस्यमय भएकाले थप प्रमाण जुटाउन प्रहरी सक्रिय रहेको एसपी मल्लले बताए । सोमबार दिउँसो दुई बजे होटेल पुगेका पुडासैनी बेलुकीको खाना खान नआएपछि बोलाउन जाँदा झुन्डिएको अवस्थामा फेला पारेको होटेलका कर्मचारीले बताए ।

होटेल सञ्चालकविरुद्ध किटानी जाहेरी

मृतकका परिवारले मंगलबार नै चितवन प्रहरीमा किटानी जाहेरी दिएका छन् । कंगारु होटेलका सञ्चालक यज्ञबहादुर कार्कीविरुद्ध आफन्तले किटानी जाहेरी दिएको प्रहरी प्रवक्ता डिएसपी एकनारायण कोइरालाले जानकारी दिए ।

जाहेरी परेलगत्तै प्रहरीले कार्कीलाई पक्राउ गरेको छ । ‘प्रारम्भिक अनुसन्धानका लागि होटेल सञ्चालकलाई नियन्त्रणमा लिएका हौँ, डिएसपी कोइरालाले भने, ‘थप प्रमाण जुटाउन थप व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउँछौँ ।’ चितवनमा दुई साताको फरकमा तीनवटा रहस्यमय घटना भएका छन् । गत साता सौराहास्थित एक होटेलको स्विमिङ पुलमा एक पुरुष डुबेको अवस्थामा फेला परेका थिए         यो समाचार चितवनबाट   दीपेन्द्र अधिकारी ​​​​​​​नागरिकमा लेखेका छन्            

प्रतिक्रिया दिनुहोस्