१ आश्विन २०८१, मंगलवार
Logo

धादिङमा मोबाइल तथा गहना चोरी गर्ने तीन जना पक्राउ

unn.prixa.net

सिताराम अधिकारी – घर घरमा गएर मोबाइल, गहनालगायतका सामग्री चाेरी गर्ने  तीन जनालाई प्रहरीले बुधबार चाेरीका सामानसहित सार्वजनिक गरेको छ ।

नीलकण्ठ नगरपालिका-३, एमालेचोकका चोकनारायण श्रेष्ठले असार ९ गते आफ्नो मोबाइल हराएकोले जिल्ला प्रहरी कार्यालय धादिङमा सामान खोजी गर्न निवेदन दिनुभएको थियो ।

श्रेष्ठको निवेदन र प्रहरीको सूचनाको आधारमा एमालेचोकमा डेरा गरी बस्ने निसान सुन्दासको कोठामा छापा मारेर नीलकण्ठ नगरपालिका-४ का २० वर्षीय सुजन ठकुरी, १८ वर्षीय किशान श्रेष्ठ र २० वर्षीय निशान सुन्दासलाई पक्राउ गरेकाे सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

प्रहरीले उनीहरुको साथबाट विभिन्न ब्राण्डका १२ थान मोबाइल, २ वटा खुकुरी, २ वटा ढलौटको लोटा, १४ ओटा ढलौटको कचौरा, चोरी गर्न प्रयोग गरिएको फलामको हम्मर, रेन्ची, लाइटर, सुनजस्तै देखिने मंगलसुत्र र माला बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताउनुभयो ।

तीन जनाको समूह मिलेर चोरी गर्ने बेलामा एकजनाले बाहिरी वातावरण हेर्ने, २ जना घरभित्र पसेर चोरी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई जिल्ला अदालतबाट चोरी मुद्धामा म्याद थप गरी अनुसन्धान गरिरहेको र धारिलो हतियार नै बोकेर हिँडेको समूह भएकोले उनीहरुबारे थप अनुसन्धान भइहेको बैदवारको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्