१२ श्रावण २०८१, शनिबार
Logo

प्रदेश ३ को नाम “गौरीशंकर” राख्नुपर्ने विषयमा केन्द्रमा बहस

प्रदेश ३ को नामाकरण “गौरीशंकर” राख्नुपर्ने प्रस्तावमा केन्द्रित भएर बहस सुरु भएको छ ।
प्रदेश ३ का प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसदहरुले प्रदेश ३ को नामाकरण गौरीशंकर राख्नुपर्ने प्रस्तावमा केन्द्रित भएर काठमाण्डौमा बहस सुरु गरेका हुन ।
प्रदेश सभाका सांसद विशाल खड्काले यस प्रदेशको नामाकरण गौरीशंकर गर्नुपर्ने प्रस्ताव प्रदेश सभामा दर्ता गराएपछि त्यस सम्बन्धमा विज्ञहरुसहितको बहस सुरु भएको हो ।
कार्यक्रममा बोल्दै प्रदेश ३ का प्रदेश सभाका सांसद एवम् पूर्वमन्त्री राजेन्द्र पाण्डेले नेपालको प्रतिष्ठालाई अन्तराष्ट्रिय जगतमा अझै परिचित गराउनु पनि प्रदेश ३ को राजधानीको नाम गौरीशंकर पाख्नु उपयुक्त हुने धारणा राख्नु भयो ।
उहाँले ७ वटा प्रदेशमध्ये अन्य प्रदेशले हिमालको नामबाट नामाकरण नगरेकाले पनि प्रदेश ३ को नामाकरण हिमालको नामबाट राख्न उपयुक्त देखिएको तर्क पनि गर्नुभयो ।
प्रदेश सभाका सांसद एवम् त्यससम्बन्धी प्रस्ताव प्रदेश सभामा दर्ता गराउनु भएका सांसद खड्काले नेपालको पहिचान हिमाल पनि भएकाले आफूले प्रदेश ३ को नामाकरण गौरीशंकर हिमाल राख्न उपयुक्त हुने प्रस्ताव प्रदेश सभामा पेश गरेको स्पष्ट पार्नु भयो ।
उहाँले प्रदेश ३ हिमालय श्रृंखलाहरुको बाहूल्यता रहेकोे प्रदेश भएकाले पनि यहाँका सबै समुदायको साझा प्रस्तावको रुपमा गौरीशंकर हिमाललाई अघि सारिएको बताउनु भयो ।
प्रदेश सभाकै अर्का सांसद पशुपति चौंलागाईँले पनि प्रदेश ३ को नामाकरण गौरीशंखर नै राख्नुपर्ने अडान राख्नुभयो ।
कार्यक्रममा प्रतिनिधिसभाका सांसदहरु पार्वत गुरुङ, जिपछिरिङ लामा, पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, नेपाली कांग्रेस दोलखा जिल्ला कार्य समितिका सभापति रुद्रबहादुर खड्काले प्रदेश ३ को नामाकरण गौरीशंकर राख्नुपर्ने प्रस्ताव प्रदेश ३ को प्रदेश सभामा पेस गरिएकोमा आभार व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठले सबैको साझा भएकाले प्रदेश ३ को राजधानी गौरीशंकर नै राख्न ३ नम्बर प्रदेशका सांसदहरुलाई आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा संस्कृतिविद् डा. जगमान गुरुङले गौरीशंकर हिमालको सांस्कृतिक, धार्मिक तथा पर्यटकीय महत्वको बारेमा चर्चा गर्नु भएको थियो ।
संवैधानिक व्यवस्था अनुसार प्रदेश सभाका सदस्यहरुको दुई तिहाई बहुमतले सम्बन्धित प्रदेशको राजधानी र नामाकरण गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्