२४ माघ २०८१, बिहीबार
Logo

नुवाकोटका बजारमा म्याद नाघेका अखाद्य वस्तु, सचेत हुन उपभोक्तालाई आग्रह

रामहरि गजुरेल
विदुर,बजारका विभिन्न पसलहरुमा उपभोक्तालाई झुक्याउँदै म्याद गुज्रेका, गुणस्तरहिन र नष्ट भइसकेका अखाद्य वस्तुहरु बेचबिखन हुने गरेको भेटिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटको नेतृत्वमा गठित संयुक्त अनुगमन समिति नुवाकोटले गरेको संयुक्त बजार अनुगमनबाट उपभोक्ताको मानव स्वास्थ्यलाई नै गम्भिर असर पार्ने प्रकारका अखाद्य वस्तुहरु नुवाकोट जिल्लाका मुख्य तथा ग्रामिण भेगहरुमा खुलेआम बिक्री भइरहेको पाइएको हो ।
त्रिशुली, ढुंगे लगायतका बजार क्षेत्रमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको जिल्लास्थित खाद्य तथा गुणस्तर कार्यालय, जिल्लास्थित घरेलु तथा साना उद्योग विकास समिति, विदुर नगरपालिका कार्यालय, नुवाकोट उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च नुवाकोट र नेपाल पत्रकार महासंघ नुवाकोटसहित सम्मिलित समितिले सोमबार गरेको संयुक्त अनुगमनको क्रममा उपभोक्तालाई हानी हुने हुने खालका वस्तुहरु बिक्री भइरहेको भेटिएका हुन् । नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीको नेतृत्वमा भएको अनुगमनमा पेय पदार्थदेखि दाल, चामल, दुर्घन्धित मासुदेखि प्याकेजिङ भएका तयारी खाद्य वस्तुहरु गुणस्तरहिन र म्याद नाघेका भेटिएका थिए ।
त्रिशुली र ढुंगे बजारका ३६ वटा पसलहरुमध्ये ८ वटा पसलबाट अवैध ढंगले बेचबिखन हुँदै आइरहेका फेला परेको थियो । अनुगमनबाट गुणस्तरहिन वस्तुहरु बिक्री भएको भेटिएका पसलहरुमा त्रिशुली बजारस्थित श्रवण किराना पसलबाट म्याङ्गो जुस, कुकिज बिस्कुट, लेज, कोकनट क्रन्च बिस्कुट लगायतका सामग्रीहरु भेटिएका छन् । यसैगरी, त्रिशुलीकै श्रेष्ठ ब्रदर्स किराना पसलबाट लेजका प्याकेटहरु, त्रिशुली लिडर इन्टरप्राइजेजबाट अर्नालाइट क्यान बियर १६ थान, अमुल्य फुरनदानाका प्याकेट, चिप्सका प्याकेट, कुरकुरे मसला, ग्लुकोज, जुस लगायतका वस्तुहरु भेटिएका हुन् । मदिरापान पसल विदुर–१ त्रिशुलीबाट ठुलो मात्रामा क्यान स्लाइस र सुर्तिहरु बरामद भएका छन् । सोही स्थानको मनकामना किराना पसलबाट कुरकुरे र डिके किराना पसलबाट नस्ट भएका बिस्कुटका प्याकेटहरु अनुगमन टोलीको कब्जामा परेको थियो । यी सबै पसलबाट जफत गरिएका सामग्रीहरु म्याद नाघेको गुणस्तरहिन भेटिएको अनुगमनमा सहभागी सदस्य तथा खाद्य गुणस्तर कार्यालय नुवाकोटका प्रमुख नवराज श्रेष्ठले बताउनुभयो । जफत गरिएका सबै सामानहरु जिल्ला प्रशासन कार्यालय परिसरमा सञ्चारकर्मी लगायत अन्य सरोकारवालाहरुको रोहवरमा सोमवार नै नष्ट गरिएको छ ।
भएर पनि खुलेआम बिक्री वितरण हुनु गैरकानुनी र उपभोक्ता हित तथा अधिकार विरुद्ध भएको संयुक्त अनुगमन समिति नुवाकोटका संयोजक एवं सहायक सहायक प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले बताउनुभयो ।
दर्ता नभई अवैध रुपमा सञ्चालनमा रहेका कतिपय पसलहरु पनि छन् । जसमा गुणस्तरहिन, म्याद नाघेका र गुणस्तरहिन वस्तुहरु बढी बेचिने गरेको पाइएको छ । यसरी कानुनी रुपमा दर्ता नभएकाहरुमा त्रिशुली बजारको आरके स्टोर लगायतका पसलहरु दर्ता प्रकृया बिना नै सञ्चालनमा रहेको पाइएको साना तथा घरेलु उद्योग विकास समिति नुवाकोटका प्रमुख तथा अनुगमन समितिका सदस्य विजयकुमार भट्टराईले जानकारी दिनुभयो ।
नुवाकोटका बजार क्षेत्रमा धेरै समयदेखि अनुगमन नै हुन सकेको थिएन । ‘विगतमा अनुगमन हुँदा छ््यापछ््याप्ती यस्ता पदार्थहरु भेटिने गरेका थिए’, संयोजक अधिकारीले समय र सचेतनाका कारण उपभोक्तासँगै व्यापारी तथा बिक्रेताहरुपनि सचेत र सतर्क भएको हुनसक्ने संभावना औँल्याउँदै भन्नुभयो–‘विगत लामो समयसम्म अनुगमन नहुँदापनि यति कम मात्रामा भेटिनु यसकै उदाहरण हो । तर, यसो भनेर मात्रै सन्तुष्ट हुने अवस्था छैन’, उहाँले योजना सुनाउँदै भन्नुभयो–‘अबदेखि आगामी दिनमा अनुगमन कार्यलाई नियमित र निरन्तरता दिँदैजाने हाम्रो योजना छ ।’ उहाँका अनुसार यसो गर्न सकएमा मात्रै आम उपभोक्ताहरु ठगिनबाट जोगिने र बजारका बिक्रेताहरुपनि सचेत बन्नेछन् ।
अनुगमनमा सामेल विदुर नगरपालिकाका अधिकृत पुष्कर शर्मा रिमाल, उपभोक्ता हकहित संरक्षण मञ्चका जिल्ला अध्यक्ष ईन्द्रबहादुर पण्डित, घरेलु तथा साना उद्योग विकास समिति नुवाकोटका तारानाथ आचार्य, नुवाकोट उद्योग वाणिज्य संघकी कार्यालय सहायक कञ्चन रिमाल लगायतका अनुगमन समितिका सदस्यहरुले उपभोक्तालाई जागरुक गराउन निरन्तर अनुगमन कार्यले प्रभावकारी हुने बताउनुभयो । उपभोक्तामाथी खेलवाड हुने अखाद्य वस्तुको वितरणलाई रोक्न दोशीलाई कानुनी कारबाहीको दायरामा ल्याउन पनि उहाँहरुको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्