८ असार २०८१, शुक्रबार
Logo
final gp koirala advert

‘पनौती नकारात्मक शब्द होइन, पुण्यभूमिको नाम हो’

‘पनौती’ शब्दलाई नकारात्मक र कुलक्षणको अर्थमा प्रयोग गर्न नहुनेमा सरोकारवालाले जोड दिएका छन् । काभ्रेको पनौती नगरपालिकामा आयोजित ‘सञ्चारकर्मी पनौती यात्रा एवं पर्यटन विमर्श’ विषयक अन्तर्क्रियाका वक्ताहरूले पुण्यभूमिका रूपमा रहेको पनौतीलाई गलत तरिकाले प्रयोग गर्न नहुने बताएका हुन् ।

काभ्रेको पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीले भने, ‘भारतमा राजनीतिदेखि खेल जगतसम्म पनौतीलाई कुलक्षणका रूपमा प्रयोग गर्ने गरिएको छ, जुन हाम्रा लागि आपत्तिजनक छ । नेपालमै पनि नबुझेर पनौतीलाई नकारात्मक तरिकाले प्रयोग गरिनु झन् दुखद् पक्ष हो ।’

उनले पनौती इतिहास, संस्कृति, धर्मका दृष्टिले महत्त्वपूर्ण शहर रहेको बताए । घुम्न र यसको इतिहास अध्ययनका लागि विदेशीहरू धाएर आउने गरेको जानकारी मेयर भण्डारीले दिए । उनले भने, १५आँै शताब्दीमा निर्मित ब्रह्मायणी मन्दिर, गाउँको प्रमुख देवीका रूपमा रहेको छ । यहाँको त्रिवेणीमा तीन नदीहरू भेट हुन्छन् । रोशी, पुण्यमाता र सबैले देख्न नसक्ने रुद्रावती मिसिन्छन् ।’

नेपालमा असाध्यै प्रचलित पर्व, योमरी पूर्णे पनि पनौतीबाटै सुरु भएको उनले बताए ।

Shivapuri rural municipality awareness message jalapanews

ऐतिहासिक शहर पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन स्थानीयदेखि केन्द्र सरकारबाट समेत पहल भइरहेको र चाँडै यसमा सफलता मिल्ने उनले विश्वास व्यक्त गरे । साथै आगामी दिनमा पनौतीको थप प्रचार गर्दै बढीभन्दा बढी पर्यटकमाझ यसलाई चिनाउने योजनामा काम गरिरहेको मेयर भण्डारीले जानकारी दिए ।

पनौती नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष भीमप्रचाद आचार्यले पनौती पर्यटकीय स्थल मात्रै नभएर प्राचीन तीर्थस्थल पनि रहेको बताए । ’पन्ध्रौँ सोह्रौँ शताब्दीतिर लेखिएको मानिने काठमाडौं उपत्यकाको प्रसिद्ध तीर्थग्रन्थ नेपाल माहात्म्यअनुसार, १६६ पवित्र तीर्थस्थलहरूको सूचीमा पनौती नवौँ नम्बरमा पर्छ । यहाँ प्रत्येक १२ वर्षमा मकर मेला लाग्ने गरेको छ’, उनले भने ।

कार्यक्रमका वक्ता पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्मचार्यले ज्या पुन्ही, मकर मेला, योमरी पुन्ही, देवी नाच पनौतीका प्रमुख जात्राहरू रहेको बताए । पुराना ऐतिहासिक र पुरातात्मिक संरचनाहरू पनि रहेको उनले सुनाए । ‘ऐतिहासिक, पौराणिक दृष्टिले पनौती पुण्यभूमि हो । कुलक्षण होइन, पनौती त जीवन र धर्मसँग सम्बन्धित छ’, कर्मचार्यले भने ।

पनौतीले इतिहासदेखि नै आफ्नो एक विशिष्ट पहिचान बनाएको उनले बताए ।

यसैगरी स्थानीय पर्यटन व्यवसायी राजन थापाले पनौतीमा घुम्न सकिने ठाउँहरूबारे जानकारी गराए । ‘पनौतीमा पर्यटनको महत्त्व त छँदै छ । त्यसमा पनि साहसिक पर्यटनका लागि अति उपयुक्त ठाउँ हो । प्याराग्लाइडिङ, रक क्लाइम्बिङजस्ता खेल यहाँ गर्न सकिन्छ’, थापाले भने ।

कार्यक्रममा फोटोग्राफर प्रशान्त श्रेष्ठले सञ्चारकर्मीहरू पनौतीमा गर्न सकिने गतिविधिबारे जानकारी गराएका थिए । उनका अनुसार, पनौती–नमोबुद्ध हाइक, बल्थली इको–ट्रेक (लोल्याण्ड ट्रेक), साँगा–पनौती हाइक (कम्युनिटी हाइक, गुर्दुम–महाभारत पदयात्रा, माउण्टेन बाइक (फूल्चोकी वरिपरि), वर्ड वाचिङ, योग रिट्रीट, सामुदायिक र निजी होमस्टे, तामा सांस्कृतिक पदयात्रा मार्ग, जात्रा–मेला अवलोकन भ्रमणका लागि पनौती उपयुक्त गन्तव्य हो ।

पनौती नगर पुग्न काठमाडौंबाट मूलतः दुई बाटो छन् । साँगाबाट बनेपाहुँदै जाँदा ३२ किलोमिटर र ललितपुरको लुभू–लाकुरीभञ्ज्याङहुँदै जाँदा मात्र २२ किलोमिटरको यात्रापछि पनौती पुग्न सकिन्छ । यो नगर सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक विविधताले भरिएको छ । यहाँका बाटा र पुराना गल्लीहरूमा काष्ठकला तथा प्रस्तरकला देख्न पाइन्छ । यहाँको प्रकृति पनि कम मनमोहकछैन । पर्यटनको प्रबल सम्भावना बोकेको पनौतीमा मनोरम पहाड, खेत तथा हिमश्रृंखलाहरू नियाल्न सकिन्छ ।

सञ्चारकर्मी पनौती यात्रा एवं पर्यटन विमर्श

२०७५ सालयता क्रियटिभ जर्नलिस्ट ग्रुप र अन्नपूर्ण टाइम्स मिडियाको आयोजनमा हरेक वर्ष मूलधारका मिडियामा काम गर्ने पत्रकारहरूबीच एक पर्यटकीय क्षेत्रमा यस्तै सन्देशमूलक कार्यक्रम हुँदै आएको छ । पनौतीको गोरखनाथ मन्दिर क्षेत्रमा भएको कार्यक्रममा १ सय ५० भन्दा बढी सञ्चारकर्मी सहभागी थिए । अघिल्लो वर्ष काठमाडौंको शंखरापुरमा ‘मिडिया र समाज’ विषयक अन्तर्क्रियात्मक कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्