बजार नपाएको तरकारीको कम्पोष्ट मल बनाउदै कृषक
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेपछि भएको लकडाउनका कारणले कृषकहरुले ठूलो क्षति व्योहोर्नु परेको छ । उत्पादन भएको तरकारी बिक्री नभएपछि कृषकहरुले खेतबारी र मल खाडलमा फालेर कम्पोष्ट मल बनाउन थालेका छन् । बजारमा तरकारी किन्ने ग्राहक नभएपछि व्यापारीहरुले उत्पादन भएका ताजा तरकारीहरु खरिद गर्न छाडेका हुन् ।
अहिले पूर्वीचितवन खैरहनी नगरपालिका वडा नं. १, बहेराका कृषकहरु कम्पोष्ट मल बनाउन थालेका छन् । कृषक लक्ष्मण चौधरीले १ बिघामा भिन्डी लगाएका छन् । खनजोत, मलबीउ, गोडमेलमा १ लाख ७० हजार लागत खर्च भएको उनले बताए । भिन्डी टिप्ने ज्याला खर्च छुट्टै लाग्छ । अहिले उनले एकदिन बिराएर ६ देखि ७ क्वीन्टल भिन्डी उत्पादन गर्छ । उनले उत्पादित भिन्डी बहेरा चोकमा रहेको ग्रामिण ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाको संकलन केन्द्रमा बिक्री गर्दै आएका छन् । यस क्षेत्रमा उत्पादित ताजा तरकारीहरु काठमाडौं, पोखरा, नारायणगढ, हेटौडालगायतको बजारमा जान्छ । तर अहिले पाँच रुपैयाँमा पनि बिक्री नभएपछि टिपेको भिन्डी कुहाएर कम्पोष्ट मल बनाउनका लागि लक्ष्मण चौधरी लगायत गाउँका अन्य कृषकहरुले खेतमै लगेर फालेका छन् ।
भिन्डी टिप्नका लागि कृषक चौधरीले प्रतिघण्टा ८० रुपैयाँका दरले १० जना खेताला लगाउने गर्दथे । भिन्डी टिप्न ४ घण्टा भन्दा बढी समय लाग्थ्यो । हरेक पटक टिप्नलाई मात्र ४ हजार ५ सय रुपैयाँ खर्च लाग्छ । यो हिसाबले प्रतिकिलो भिन्डी टिप्न ६ रुपैयाँ ८५ पैसा लाग्छ । बजारमा प्रतिकिलो ५ रुपैयाँमा बिक्री गर्दा प्रतिकेजी १ रुपैयाँ ८५ पैसा घाटा लाग्थ्यो । घाटा लागे पनि उनले भिन्डी टिपेर बजार पु¥याउन छाडेका थिएन । कोरोनासँग लड्न इम्यूनिटी पावर बढाउनुपर्छ भन्ने रेडियोमा सुनेको बताउँदै त्यसका लागि ताजा तरकारी खानुपर्छ । घाटा लागेपनि जनताले खाओस् भनेर पाँच रुपैयाँमा बिक्री गर्दै आएका थिए । तर अहिले तरकारी नै बिक्री हुन छाडेपछि ब्यापारीहरुले पनि तरकारी खरिद गर्न छाडेका छन् ।
कृषक चौधरी भन्छन्–“दैनिक घाटा खाएर भएपनि ५ रुपैयाँमा बेच्दै आएको थिएँ । तर अहिले बिक्री नै नभएपछि कहाँ लगेर बेचौं । तीन दिन अगाडि टिपेको भिन्डी बोरामै कुहिन लागेपछि मल बनाउँदैछु ।”
उनले मजदुरहरुलाई खेतका सबै भिन्डी सित्तैमा दिएका छन् । उनी भन्छन्–“जति टिप्न सक्छ टिप्नुस् आफैंले बिक्री गर्नुस् पैसा पनि आफैंले लिनुस् भनेर आइतबारदेखि खेतका सबै भिन्डी खेतालालाई नै दिएको छु ।”
उनका दाजु झाउर महतोले १० कट्ठा र भतिज नारायण चौधरीले पनि ७ कट्ठामा लगाएको तरकारी बालीको अवस्था पनि त्यस्तै छ । उनीहरुले पनि तीन दिन अगाडि टिपेको भिन्डी मल खाडलमा फालेका छन् भने बोटमै फलिरहेको भिन्डी खेतालालाई नै सित्तैमा दिएका छन् । बारा जिल्लाबाट करिब १५ महिनादेखि गाउँमा डेरा गरी बसेका केहि मजदुर परिवारले उनीहरुको खेतका भिन्डी सित्तैमा पाएका छन् ।
ग्रामीण ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाका अध्यक्ष पूर्णदत्त भुसालले जेठ महिनामा मात्र करीब दुई करोडको तरकारी उत्पादन हुने अनुमान गरेका छन् । कोरोनाको कारणले आगामि दिनहरुमा उत्पादन अझै बढ्न सक्ने उनले अनुमान गरेका छन् । उनले भने–“कोरोनाका कारणले वैदेशिक रोजगारमा गएकाहरु कृषि उत्पादनमै लाग्नेछ । त्यसले गर्दा उत्पादन अझै बढ्दै जान्छ । उत्पादित तरकारीको बजार व्यवस्थापन गर्न हामीलाई अझै हम्मे पर्ने भएकोले अझै थुप्रै व्यापारीहरुलाई यहाँ केन्द्रीकृत गरी बजारको क्षेत्र बढाउनुपर्ने देखिन्छ । तर अहिले कोरोनाको कारणले काठमाडौं, पोखरा, नारायणगढ, हेटौडा बजारमा तरकारी नजाने भएकोले बजारको अभाव भएको छ ।”
“कृषि उपजमा हानि नोक्सानी भएमा लागत खर्च मात्र दिन्छ । तर बजारको अभाव भएर उत्पादन बिक्री नहुँदा बिमा कम्पनीले बिमा रकम नदिने भएकोले बजार ब्यवस्थापनका लागि हामीले छुट्टै रणनीति बनाउनुपर्छ” अध्यक्ष भुसालले बताए ।
सहकारी संस्थाको संकलन केन्द्रमा बैशाख महिनामा मात्र सरदर दैनिक ६० क्वीन्टल भिन्डी, ७० क्वीन्टल बोडी लगायत अरु तरकारीहरु संकलन भएको संस्थाका व्यवस्थापक तारा प्रसाद चौधरीले बताए । जेठ महिनामा दैनिक ९० क्वीन्टल भिन्डी र ४० क्वीन्टल बोडी, लगायत अरु तरकारीहरु पनि संकलन हुने उनले अनुमान गरेका छन् । तर अहिले कोरोनाका कारणले व्यापारीहरु नआएकाले फाटफुट मात्र संकलन गरिएको उनले बताए ।
नारायणी अनलाइनबाट
प्रतिक्रिया दिनुहोस्